नेपाली मेलापात र बालिनालीमा छोपिएको बौद्धिक सम्पदा: श्रमगीत
रमेश शुभेच्छु नेपाली साहित्यको समकालीन पुस्ताका सशक्त युवाकवि
एवम् समालोचक हुन् । उनका दर्जनौँ कविता एवम् समालोचना कृतिहरू प्रकाशित
छन् । उनके परिचय भानुका अघिल्ला अब्कमा भइसकेको छ । भानुको प्रस्तुत शृब्खलामा
शुभेच्छुको ‘नेपाली मेलापात र बालिनालीमा छोपिएको बौद्धिक सम्पदा: श्रमगीत’ शीर्षकको
समीक्षा समेटिएको छ । यस समीक्षामा यस महिनाको सबकेत गर्ने गरी असारे गीतसहित
अन्य श्रमगीतको परिचय र विश्लेषण गरिएको छ ।
— सम्पा
रमेश शुभेच्छु
१. विषय परिचय
नेपाली समाज कृषिप्रधान समाज हो । यस समाजमा रहेको लोकसंस्कृतिमा
श्रमको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध रहन्छ । कुनै न कुनै रूपले कृषिकर्म गरिने हुँदा र अधिकांश
नेपालीको जीवन श्रमशील हुने हुँदा नेपाली श्रमगीतबाट नेपाली समाजको समाजशास्त्र,
संस्कृति र मनोविज्ञान पनि बुझ्न सकिन्छ । यस लेखलाई नेपाली समाजमा प्रचलित, श्रम
गरेका बेला गाइने लोकगीतहरूको अध्ययनमा केन्द्रित गरिएको छ । अध्ययनका क्रममा
विषय परिचय, श्रमगीतको अवधारणा र ऋतुअनुसारका श्रमगीतको परिचय र विशेषता
प्रस्तुत गरिएको छ ।
नेपाली मेलापात र बालिनालीमा छोपिएको
बौद्धिक सम्पदा ः श्रमगीत
२ श्रमगीत
लेकसाहित्यको प्रमुख विधा मानिने लोकगीतको एक भेदका रूपमा श्रमगीतलाई
चिनाउन सकिन्छ । श्रमको गीत श्रमगीत वा श्रम गरिरहेका बेला मेलापातमा गाइनेगीत भन्ने
अर्थमा श्रमगीतको अर्थ लगाउन सकिन्छ । यसलाई कर्मगीत, कामगीत, पसिना गीत पनि
भनिन्छ । नेपाली समाजका मानिसहरू प्रायः सबै ऋतु र महिनामा वाली लाउने, उठाउने,
गोडमेल गर्ने, बिउ राख्ने, मल हाल्ने, पशु चराउने, मलजल गर्नेआदि काममा व्यस्त रहने
भएकाले यहाँ श्रमगीतहरूको उपस्थिति ठुलो देखिन्छ ।
नेपाली श्रमगीतको जेजति अध्ययन अन्वेषण, सब्कलन र विश्लेषण हुनुपर्ने हो
त्यसो हुन सकिरहेको छैन । नेपाली लोकसाहित्यका अन्वेषक कृष्णप्रसाद पराजुलीले यस्तो
गीतलाई कर्मगीत भनेका छन् (२०६४, पृ.२०४) । उनका अनुसार खेतीपाती लाउने, गोडमेल
गर्ने र बालीनाली थन्क्याउने बेलामा नै गाउने गीतलाई कर्मगीत भनिन्छ । उनका अनुसार
बहुसंख्यक नेपालीको जनजीवन पसिना चुहाइ लेकबेँसी र वनपाखा गर्दै खोलानाला र
जब्घार तर्दै परिश्रमका साथ खानु पर्ने जीवन भएकाले त्यस्तो काम मात्र गरिरहँदा जीवन
निरस हुने भएकाले काम गर्दागर्दै गीत गाइन्छ । त्यसरी गीत गाउनु र गाउन पाउनु खेताला,
गोठाला र श्रमजीवीहरूको नैसर्गिक अधिकार हो । श्रम गर्ने सिलसिलासँग सम्बन्धित हुनाले
कर्मगीत नै श्रमगीत हो ।
आज मिल, यातायातका साधन, तयारी खाद्यवस्तुको प्राप्तिले लोकजनजीवन केही
सहज भए पनि हिजो लोकजीवन असाध्य श्रममा थियो । घरआँगनमा रहँदा होस्, मेलापात
जाँदा होस्— मानिसलाई फुर्सद भन्ने कुरा थिएन । त्यसमा पनि दिनभरि मेलामा काम गरेका
महिला जातिले जाँतो र ढिकीसँग रात बिताउनु पथ्र्यो । त्यो अवस्था अहिले पनि प्रायः
दुर्गम गाउँमा यथावतै छ । यस्तो श्रमशील जीवनमा श्रम मात्र गर्दा आउने थकान, निराशा
र पीडा विर्षनलाई श्रमगीत गाउने चलन परम्परादेखि चलिरहेको छ । यस अर्थमा पनि श्रम
र श्रमविषयक लोकगीतको सामाजिक सम्बन्ध गहिरो रहेको हुन्छ ।
नेपाली श्रमगीतको मौलिकतामा आधुनिक जीवन पद्धतिले अवश्य नै केही प्रभाव
पारिरहेको छ । अरुको सिको र आफ्ना दुःखवेदना र यथार्थ बिर्सने प्रवृत्तिले हाम्रा असली
श्रमगीत र अरु लोकगीत पनि व्यवस्थित ढब्गले सब्कलन हुन र तिनको वर्गीकृत अध्ययन
विश्लेषण हुन सकिरहेको छैन । नेपाली समाजमा जेठे, असारेगीत, दाइँगीत, साउने,
भदौरे आदि अनेक श्रमगीत प्रचलित र संरक्षित छन् । चैत्र वैशाखतिर बारीमा मकै गोड्ने
बेलामा कुटोकोदालो चलाउने तालमा र कम्मरको लचक मिलाएर गाइने दम्केगीत पनि
लोक प्रचलनमा श्रमगीतकै रूपमा रहेको देखिन्छ । रोपाइँको अवसर पारेर गाइने रसिया
लोकगीतको नेपाली जीवनसँग घनिष्ट सम्बन्ध रहेको देखिन्छ । पराजुलीले श्रमगीतलाई
यसरी चिनाएका छन् ः
कर्मगीत वा श्रमगीत प्रत्येक ऋतुमा हुने कामका प्रकृतिअनुसार गाउने
गरिन्छन् । त्यसबेला अन्य प्रकारका गीत गाइँदै नगाइने होइनन्, तर कर्म वा श्रमसँग
÷ज्ञज्ञ
सान्दर्भित गीतले प्रमुख भूमिका ओगटिरहेको हुन्छ । कर्मगीतले एकातिर ऋतुलाई छुन्छ
भने अर्कातिर कामको प्रकृतिलाई लोकजीवनसँग टाँसेर उत्साह सञ्चारित गर्छ । (२०६४,
पृ. २०८)
पराजुलीले चर्चा गरेको कर्मतीत नै श्रमगीत हो । उनले यस गीतले ऋतुलाई पनि
समेट्ने र कर्मका प्रकृतिअनुसारको लय र भावलाई समेटेर कर्म गर्नका लागि उत्साह भर्ने
विश्वास लिएका छन् ।
श्रमगीत गायन अवसरका आधारमा गरिने लोकगीतको वर्गीकरणअनुसार श्रमसँग
सम्बन्धित वा श्रम गरेका बेला गाइने गीत विशेष हो । यो मूलतः वनपात, खेत खलिहानमा
श्रमका साथ गाइने गीत हो । नेपाली लोकगीतको अध्ययन परम्पराको आरम्भतिरै सब्कलित
गीतमा पनि श्रम र कृषिको प्रभाव भेटिन्छ ः
आलीबाट गोरु झरे माले गोरु खोइ
हातको चुरी बेचेर खाने धिक्कार तिम्रो पोइ । (सुवेदी २०५५, पृ. ६१ मा उद्धत्)
यस्ता कर्मगीत वा श्रमगीतमध्ये यहाँ मूलतः बाली भित्र्याउने उठाउने कृषिश्रमसँग
सम्बन्धित गीतका साथै भारी उठाउने गीतलगायत श्रमसँग सम्बन्धित लोकगीतको मात्र
परिचय दिइएको छ ।
३. श्रमगीतको अध्ययन
नेपाली समाज हलो, कोदालो, हँसिया, चर्खा, स्वेटर– रुमाल बुन्ने काँटा, कपडा,
राडीपाखी आदि बुन्ने तान र गाई–भैँसी, वाख्रा–भेडा, चौँरी, घोडा खच्चर आदि चराउने,
सदाउने र बाह्रैमास श्रम गरिरहने–गरिरहने समाज हो । यस समाजमा श्रम र गोठाले
जीवनसँग सम्बद्ध अनेक गीतहरू सुरक्षित छन् । यहाँ त्यस्ता गीतलाई मोटामोटी जेठे,
असारे, साउने, भदौरे, कात्तिके, रामदली, रसिया, मब्सिरे÷दाइँगीत, भारी उचाल्ने गीत,
भैँजडी गीत, पालम गीत, फिरी गीत, बाली गीत, आदिले समेट्न सक्छन् । यहाँ यिनै
विभिन्न समयमा गाइने श्रमगीतको सारभूत थप चर्चा गरिएको छ ।
३.१. जेठ
ज्येष्ठ अर्थात् जेठ शब्दले नेपाली विक्रम संबतअनुसार दोस्रो महिनालाई
बुझाउँछ । ज्येष्ठको तद्भवीकृत रूप जेठ हो र त्यसैको विशेषता झल्काउने शब्दका रूपमा
जेठे शब्दको प्रयोग भएको देखिन्छ । जेठे शब्दले जेठमा हुने, जेठमा बालि लाइने, जेठमा
उब्जने बालीनाली उठाउँदा वा काम गर्दा गाउने लोकगीत भन्ने बुझिन्छ, नेपाली समाजमा
यस महिनामा गरिने कामअनुसार कामसँगसँगै थकाइ मेट्न गीत गाउने गरेको पाइन्छ । गर्मी
महिनामा श्रमका बेला गर्मी र कामको चाप वा थकान बिर्सन गाइने गीतलाई जेठेगीत
भनिन्छ । यसलाई जेठेरी भन्ने गरेको पनि पाइन्छ ।
नेपाली मेलामा जेठ महिनामा कतै घैया गोड्ने, कतै मकै गोड्ने, कतै दाउराको
जोहो गर्ने, बालीनाली ढेडुबाँदरबाट जोगाउन लागिपर्ने अनेक श्रमको चटारो हुन्छ । विशेषतः
मकै र वर्खे धान रुब्ने जस्ता अनेक श्रम यस महिनासँग सम्बन्धित छन् । अधिकांश
ज्ञद्द÷
सागपात, लहरे तरकारी र अन्य तरकारी बाली लगाउने बेला पनि यही पर्छ । जेठे शब्दले
गोडमेल, सुरक्षा बिउ बिजन छर्ने याममा गाइने गीतका अर्थमा जेठेगीतको उपमा पाएको हो ।
जेठेगीत नेपालको पूर्व र पश्चिम दुवै क्षेत्रमा गाउने गरेको पाइन्छ । यस गीतलाई
ठाउँअनुसार लहरी, लालुमाई, रामदली मैना, झ्याँगा, कुरुवा, लम्बरी भाका पनि भन्ने
गरेको पाइन्छ । यो गीत प्रचण्ड गर्मीका बेला खेतबारीमा काम गर्दागर्दै गाइने हुनाले यसमा
त्यसै प्रकृतिअनुरूपका करुण भावना समेटिएको हुन्छ । जेठेगीतलाई बाजागाजा र नृत्यमुक्त
कामकै तालमा गाइने गीतका रूपमा चिनाइएको पाइन्छ । यसगीतका ठाउँअनुसारका फरक
फरक भेद उपभेदहरू पनि पाइन्छन् ।
अधिकांश जेठेगीतमा करुण भाव अभिव्यक्त भएको हुन्छ । समाजका अपरिचित
व्यक्तिसँगको चिनापर्ची, चरीलाई दूत बनाएर गरिएका सन्देश प्रवाह, जीवनका दुःखसुख,
श्रमका दुःख, कर्म, भाग्य र लोकविश्वासका विविध पक्ष आदि जेठे गीतमा समेटिएको
हुन्छ । यस गीतलाई प्रौढाहरूको गीत पनि भन्ने गरेको पाइन्छ । श्रमले पसिनासरि भएको
दारुण अवस्थामा गाइने भएकाले जेठेगीतहरू करुण र शान्तरसात्मक हुनु स्वाभाविकै
देखिन्छ ।
जेठे गीत पुरुषले पनि गाउँछन् । लोकपरम्परामा भने यस गीतलाई महिलाहरूको
एकल गीतका रूपमा चर्चा गर्ने गरेको पाइन्छ । कुनै गीत समूहमा गाइए पनि यसको मूल
प्रवृत्ति भने एकल गायनसँग सम्बन्धित रहेको पाइन्छ । यसमा यस्तो बाद्य प्रयोग हुन्छ भनेर
कतै उल्लेख नभएकाले कण्ठ्य गीत पनि मान्न सकिन्छ । यो ऋतुकालीन र श्रमगीतका
वर्गमा वर्गीकृत हुन सक्ने गीतको प्रकार्यमा पर्दछ । यस गीतमा प्रायः नारी जीवनका दुःख
पीडा र वेदनाहरूलाई नै समेटेको पाइन्छ । जस्तै,
क)
हिमालैचुली त्यो पल्लोपटि सुनजस्तो सुन्तला
एकोरो माया म कति गरुँ जिउ घट्यो तीन तोला ।
(सबकलन, पाँचथर सुभाबकी पुण्यमाता लुइटेलबाट)
ख)
सुन पड्गी चरी यिनी दुःख मेरा आमासँग कहिदिएस्
सुन पब्खी चरी यिनी दुःख मेरा बुबालाई कहिदिएस्
ए पब्खी चरी यिनी दुःख मेरा दाजैलाई कहिदिएस्
दाजुले सुन्लान् धुरुक्कै रोलान्
गहना पिटाउलान् नि चरा गहना पिटाउलान् ।
ग)
जेठै र मासका यति चर्का घाम एक्लै कोदाली खन्छु नि है ।
घरमा थिए बेरामी स्वामी स्वामीको हाल के पाम्छु है ?
गामै र बाट बिसीमा जाँदा मुजेत्रो मेरो खस्यो नि है
घरमा छन् बेरामी स्वामी केकेमा मेरो हुन्छ नि है ।
सतकी छु त घाम छँदै सकूँ असतकी छु त मै मरुँ है ।
उँभो र बाट नन्द (ज्यू) झरिन् दाजुको सनेस केल्याइन् है ?
छोडन कोदाली अभागिनी भाउजू दाजु त हामरा छैनन् नि है
साँचोमा साँचो कहु मेरी नानी सुनको सिर्फूल तिम्लाई है
चाँडैमा चाँडो जाऊ मेरी भाउजै दाजुको मुख देखौली है
मुख मैले देख्न पाइनँ नानी टोपी लिएर सती जान्छु नि है
साँचोमा साँचो कह्यौ मेरी नानी गहना मेरा तिम्लाई है
मै सती जान्छु हे मेरी नानी गहना सारा तिम्लाई है ।
(शर्मा र लुइटेल, २०६३, पृ. १०३)
घ)
जेठै र मासका खरीलाउँदा घाम
एक्लै गोड्छ्यौ नि जिरिया है
तिमरा ससुरा कहाँ गए नानै ?
केहुमा काम त गर्छन् नि है ?
हामरा ससुरा घरका मालिक
मेलै लाउँछन् नजर है । (न्यौपाने, ….पृ. २००)
माथिका साक्ष्यहरूबाट जेठ महिनाका श्रमशील जीवनका समस्याहरूलाई समेटेको
देखिन्छ । पहिलो साक्ष्यमा गर्मी याममा शीत्तल सुन्तलाको स्मरण गरिएको छ । दोस्रो
साक्ष्यमा नारीको वियोगान्त अवस्थालाई समेटेको छ । तेस्रो साक्ष्यमा पति बिरामी भएर
खन्ने काम सक्न खेतमा गएकी नारीको पति वितेको खबर आएको र सती जाने प्रसब्ग
समेटिएको छ । चौथो साक्ष्यमा पनि खरीलाउँदा घामकै परिवेशलाई समेटिएको छ । नेपाली
श्रमशील जनजीवनका यस किसिमका अनेक लोकगीत संरक्षित छन् ।
३=२=असारे गीत
नेपाल कृषिपधान मुलुक हो । यस मुलुकमा असारलाई मानो रोपेर मुरी फलाउने
समय भनिन्छ । यस महिनामा धानबालीको रोपाईँ गरिन्छ । नेपालका विभिन्न ठाउँमा असारमा
धान रोप्दा धकाई मार्ने क्रममा र रोपाईँ गरेको रोपो राम्ररी हुर्कियोस् भन्ने कामनाका उद्देश्यले
पनि लोकगीत गाइन्छ । यसरी गाइने गीतलाई असारे गीत भनिन्छ ।
नेपालका अधिकांश ठाउँमा खास गरी असार महिनामा धान रोप्ने गरिन्छ । रोपाइँका
बेला कृषकहरूलाई कामको भ्याइनभ्याइ हुन्छ । रोपाईंमा कठोर कामगरेर बिहानभर वा
दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै
थकाई विर्सन खोज्छन् । यस्तो गीत गायनले थकाइ बिर्साउँदै पुनर्ताजकी गर्छ । खेतका
गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छबछब आवाजसँगै असारे भाका खुल्दछ ।
कोदालीका तलमा, रोपो छुपुछुपु रोप्ता आउने आवाजका तालमा र कतिपय ठाउँमा बाजाको
तालमा पनि असारे गीत गाउने चलन हुन्छ । जस्तै,
कालै र गुन्युँ कालै र चोलो, चुलैर पोत्नेलाई
खाइलाग्दो जवान् घरैमा थियो के हेछ्र्यौ जोत्नेलाई । (सुवेदी, २०३९)
नेपालका विभिन्न भेगमा गाइने असारे भाकाले भौगोलिक विविधता पनि समेटेको
देखिन्छ । असारे भाकालाई पूर्वी भेगमा ।।।रसिया’ पनि भनिन्छ । यही गीतलाई पश्चिमाञ्चलतिर
’काँठेभाका’ भनिन्छ । अन्यत्र ठाउँअनुसार यसको अरु पनि नाम हुन सक्छ । फरक भाषा
र भाषिकाका नाम त एकभन्दा अर्को भिन्न हुने नै भए ।
असारे गीतमध्ये लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका
टुक्काहरू मिलाई अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन प्रायः असारे गीतमा
प्रचलित छ । यस भाकाका फाँकीहरू प्रायः १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १०
अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी तानी यो भाका गाइन्छ । असारे भाकाले
थकित वातवारणलाई आनन्ददायी, उर्जाशील र रोचक बनाइदिन्छ । नारी पुरुष दुवै मिलेर
मात्र रोपाइँ सम्पन्न हुने हुँदा उनीहरूबीचका प्रेम र छेडखान पनि असारेगीतमा समेटिएको
हुन्छ ।
असार कृषि सभ्यतामा असाध्यै महŒवको महिना हो । लोक समाजमा असार
महŒवपूर्ण भएकै कारण संस्कृतका, महाकवि कालिदासले ’आषाढस्य प्रथम दिवसे’ भनेर नै
मेघदूतमा आफ्ना भाव प्रस्तुत गरेको पाइन्छ । त्यसबाहेक महाकवि लक्ष्मीप्रसाद देवकोटा,
लेखनाथ पौड्याललगायत आधुनिक कालका थुप्रै लेखक कविले विभिन्न कोणबाट असारलाई
आफ्ना सिर्जनामा समेटेको पाइन्छ ।
असारे गीत विशेषतः हली, बाउसे, रोपाहार, घरबेटी, खेतालासमेतले खेतीपातीको
बयान, सामाजिक अवस्थाको व्याख्या, श्रमजीवनका दुःखसुख तथा एक आपसमा छेडखान
गर्दै गाइने गीत हो । यो गीत ठाउँअनुसार शब्द र लयमा फरक भएको पाइए तापनि कामको
साथमा गाइने भएकाले सबै ठाउँका असारेगीत बेठी लगाउँदाको अवस्थाबाहेक ढिलो लयमा
गाएको पाइन्छ । विशेष गरी पूर्वी पहाडी क्षेत्रमा गाइने गरेको असारे जुहारी लोकगीतका
शब्दहरू बढी प्रचलित छन् ः
बाहुसे ः मुखिया बाको टारी है खेतमा सुन चेलीबेटीउ ढुकुरै लुक्ने बिउ,
(ढुकुरै लुक्ने बिउ हो हो हो हो )
सुन चेलीबेटीउ ढुकुरै लुक्ने बिउ
जतिमा हेर्यो झन् हेरौँ लाग्ने सुन चेलीबेटीउ, सोह्रैमा बर्षे जिउ ।
-सोह्रैमा बर्षे जीउ हो हो हो हो
सुन चेलीबेटीउ सोह्रैमा बर्षे जीउ ।
रोपाहार ः असारै मासको दबदबे हिलो,
सुन माइती राजाउ गोरुले साएको ।
(गोरुले साएको हो हो हो हो )
सुन माइती राजाउ गोरुले साएको ।
असारे झरी निहुँ गरी गरी सुन माइती राजाउ
छेउ किन आएको ?
(छेउ किन आएको ? हो हो हो हो )
सुन माइती राजाउ छेउ किन आएको ?
(पूर्वमा मेलापात जाँदा लेखकले सुनेको)
यस किसिमका गीतहरूले काम गर्न अल्छी लागेको बेला पनि काममा उत्साह
जगाउने काम गर्छन् । यहाँ केही थप असारे गीतका नमुना समेटिएको छ ः
३.२.१) पूर्वी नेपालमा गाइने असारे गीत
रोप न रोप रोपारै रानी म पँज्याई दिउँला बिऊ
हलीलाई दिउँला एक राते दही बाउसेलाई दिउँला घिउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनी भुरुल्ली काटेँ ओइलायो आलीमा ।
(तेह्रथुम–पाँचथरतिर प्रचलित गीत)
गुदुमा गुदु भातै र पाक्यो तिहुन् न सिरिब्गी
हलीलाई लाग्यो कैटेको व्यथा बाउसेलाई भिरिबगी
हलै र भाँच्यो जुवै र भाँच्यो ढाँड् क्याले जोतूँ ला
सम्धी र जस्ता पाहुँना आउँदा गाँड क्याले छोपूँला
हलै र भाँच्यो जुवै र भाँच्यो खुर्खुरे ढाँडले
असार मास र सुत्केरी भैछे के खान्छे राँडले ।
(लेखकले मेलापातमा सुनेको पुरानो गीत)
३.२.२) सुदूरपश्चिम कर्णाली क्षेत्रका प्रचलित असारे गीत
कर्णाली क्षेत्रमा असारे गीतलाई स्थानीय भाषामा ।।।अवाली’ भन्ने गरेको पाइन्छ ।
यसले असारे गीतलाई नै ठाउँअनुसार फरक–फरक सम्बोधन गरिने बुझाउँछ । कर्णाली
क्षेत्रमा गाइने असारे गीतको नमुना यसप्रकार छ ः
कठै छुपुछुपु रोपी ल्याऔँ सिउँती सेरा अ
कठै बडिमाईका थान चढेइ मोती मेराइ अ
कठैबाट डिलबाट भिता काट्यो तरिस
कठै बाँची रहे हली बाउसे लाखै बरिस
कठै शिरसैनको मुला चोतो चिर भाइ हो खाउँ
कठै लाला झ्याउँ झ्याउँ बसी गया अब घर जाउँ
कठै शिरसैनको मुला चोतो चिरेइ खाँदैन
कठै यति राम्रा साते छोडी घर जाँदैन
कठै झुमुझुमे मेघु आयो माँझै असार
कठै शिरको शिरबन्दी ल्यायौँ बाहुली पसार
ज्ञट÷
कठै उमा देश हाम्रा माइत जाइआ भमर
कठै बुवाज्यूका बगलीमा बस्यै भमर
हाम्रा बुवा सोध्याउन्ना बोल्यै भमर
तम्री चेली बडा दुःख कहेइ भमर ।
३.२.३) काठमाडौँ उपत्यकामा प्रचलित असारे गीतको नमुना
काठमाडौँ उपत्यकामा गाइने असारे गीत लेग्रो तानेर गाइन्छ । गीतको पहिलो
फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी गाउने
गरिन्छ ।
सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
तेन्जिब शेर्पा हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट ।
काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
हरेराम राम हिउँदको घाम आधा सुक्यो मनैमा ।
(बिना बञ्जरा, काठमाडौँबाट सब्कलित)
काठमाडौँ उपत्यका आज सहरका रूपमा विकास हुँदै गए पनि हिजो यो उपत्यका
उर्बर कृषिप्रधान थियो । यहाँ अनेक असारे गीतहरू प्रचलित छन् । यहाँ सब्केत मात्र
गरिएको छ ।
३.२.४ तनहुँमा गाइने असारे गीत
तनहुँ पुरानो भन्सार अड्डा र भानु जन्मस्थल भएको कारण त्यस क्षेत्रमा अनेक
लोकसम्पदा सुरक्षित छन् । त्यस क्षेत्रका बेँसीमा धुमधामसँग रोपाइँ गर्ने चलन अहिले पनि
छ । त्यस क्षेत्रका प्रचलित असारे गीतका केही नमुना यसप्रकार छन् ः
क) ‘भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार…
हनुमान ढोका उघारी हेर्दा लागेछ असार’
ख) ।।।छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाईयो बाबाको ज्यु छइन्जेल’
ग) ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थिर । ’
यी तीन वटै साक्ष्यले कुनै न कुनै रूपमा असारलाई समेटेका छन् ।
३.२.४) रसुवामा गाइने असारे गीत
रसुवामा असारेगीत गाउने प्रचलन अहिले पनि छँदै छ । त्यहाँ खाजा खाने र
चिया खाने बेलामा एक पटक बाउसे र रोपाहारबिच दोहोरी नै गाउने चलन रहेको छ ।
यस क्षेत्रमा प्रचलित
गाईको दाम्लो, भैंसीको दाम्लो किलाको किलै छ, किलाको किलै छ
अलैँची दाना बाडौँला भन्थेँ हात मेरो हिलै छ ।
हात मेरो हिलै छ……. अलैँची दाना बाडौँला भन्थेँ हात मेरो हिलै छ ।
असारे गीतलाई ठाउँअनुसार फरक–फरक नाम दिइएको पाइन्छ । साक्ष्यको गीत
रसुवा, नुवाकोट र उपत्यकामा पनि गाइने गरेको पाइन्छ ।
३.२.५) पर्वत जिल्लामा गाइने गीत
पर्वत जिल्लामा असारे गीतका साथ रोपाइँ गर्ने गरेको बुझिन्छ । यस जिल्लामा
फरक–फरक गीत प्रचलनमा रहेको र एक प्रकारलाई भलागीत पनि भन्ने गरेको पाइन्छ ।
जिल्लाको उत्तरी भेगमा गाइने असारे गीतका अन्त्यमा ‘भलो भलो’ भन्ने थेगो जोडिने
भएकाले यस गीतलाई भलागीत भन्ने गरेको पनि पाइन्छ । विभिन्न ठाउँमा गाइने असारे
गीतका थप नमुनाहरू तल टिपोट गरिएको छ ः
क) न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पुरबै ढोका खोलेर हेर्दा लागेछ असार
भलो भलो लागेछ असार
ख) असारमासको चीजको वस्तु पाकेको खुर्सानी,
एक चरन असारे भन्देउ राजै सम्झाउनी विर्साउनी
ग) असारे मासुको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो ।
(वेदप्रसाद ढुब्गेल, इलाम वर्ष ५० बाट सब्कलित)
प्रस्तुत साक्ष्यमा जस्तै असारे भाकामा प्रेम, वियोग, व्यथा, पीडाका साथै हास्य
रस पनि पाउन सकिन्छ । जस्तै,
घ) असारलाई भनी कुटेको च्युरा म कति साँचूँला,
सौताका हात दुइ कुड्की भात म कति बाँचूला
जुत्ता है सिउने सार्की दाजु फूल भिने सर्किनी,
डाँडै र काटी गएको म त मायाले फर्के नि ।
बाटो है माथि बाटो है तल बूढो नि खरायो,
रोपाहार रानी रोपदै थिए बाउसे नै हरायो ।
(लेखकले मेलापातमा सुनेको)
असारे गीतहरूमा असारमा आउने बाढी पहिरोका विपत्ति पनि समेटिएको हुन्छ ।
यस्तै कतिपय गीतले विपतलाई पनि चिरेर श्रम गर्नुपर्ने पक्षलाई समेटेको हुन्छ । असारमा
खाइने खाजापानी, गोरु, हली र रोपाहारका प्रसब्गलाई पनि समेटिएको हुन्छ । यस्ता
विविध पक्षलाई समेटेको गीतको एउटा अंश यस्तो छ ः
ब) खोल्सा र खोल्सी बाढी है आयो वर्षाको बेलैमा
काँधमा हलो हातमा जुवा लागी हुन् मेलैमा
मै पनि जान्थेँ हल गोरु साउनु बेँसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थेँ डाँडा र पाखैमा ।
धानको बिउ हातमा लिइ रोप्दी हुन छुपु छुपु
आलीमा बसी गहुँको रोटी खादी हुन् कुपु कुपु
तारे र माले गोरुले पनि खोज्दै होला खै हली भनेर
रात भरी पाले बस्दै छ हली डलर सम्झेर
बट्टामा भात झोलामा लगाई डलरको खेतीलाई
कठुवामा जाँड मकैको खाजा धनको खेतीलाई ।
(पाँचथरकी ७० वर्षीया टब्कमाया लुइँटेलबाट सब्कलित)
असारे गीतको प्रचलन प्रायः सबै ठाउँमा भएको पाइन्छ । लेखकले सुनेका केही
असारे गीतका थप अंशहरू यस्ता थिए ः
क) धान है रोप्नु छुपुमा छुपु असार मासैमा
राजाको बेठी म कन्ने केटी, बाँच्नु छ आशैमा ।
ख) छुपुमा छुपु धान है रोप्नु हातैमा बिउछैन्जेल
राम्रैमा लाउँला मिठैमा खाउँला यो जीवन रहुन्जेल ।
ग) असार मासको दोपरे खाजा रानीको कसार
सुनको ढोका उघारी हेर्दा गएछ असार ।
घ) दुलाहा भन्दा मायालु नाठो हितैको परानी
हली है राजा खेताली रानी बाउसे खरानी ।
(पाँचथर निबासी पुण्यमाता लुइटेल, वर्ष ५५ बाट सब्कलित )
कुनै काम गर्दा श्रम परिहारका रूपमा लोकले गाउन सुरु गरी प्रचलनमा ल्याएका
गीतहरू नै श्रम गीत हुन् । नेपाली समाजमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनेकौँ यस्ता
गीत रहेको पाइन्छ जसमध्ये गोडेलो, बाली, रोपाईँ दाइँ गीत आदि रहेका छन् ।
श्रमगीतमध्ये असारे गीत उल्लेख्य र चर्चित छन् । बिशेष गरी रोपाइँ गर्दा गाउने
गीतहरू असारे गीत हुन् । खेतीपातीमध्ये हिलो पानी नभनी खट्नु भिड्नु पर्ने गाह्रो काम धान
रोप्ने कामलाई किसानहरूले प्राथमिकता दिएका हुन्छन् । यसलाई सहज र मनोरञ्जकसमेत
बनाउन विभिन्न उपाय अपनाइएको पाइन्छ जसमध्ये बेठी लगाउने, रसिया गाउने, हिलो
छ्यापाछ्याप गर्ने, हली बाउसे र रोपाहारहरू मिलेर गीत गाउँदै रोपाइँ गर्ने चलन बढी देखिन्छ ।
बेठी ः
बेठी रोपाइँमा पञ्चेबाजा बजाएर र भोज ख्वाएर गरिने श्रमउत्सव हो । जतिसुकै
झमझम पानी परिरहे पनि त्यसको कुनै पर्वाह नगरी पञ्चे बाजाको तालमा बाउसेले कोदालो
चलाउने र रोपाहारले छुपुछुपु रोपेर यस श्रम उतसवलाई रमाइलो बनाउँछन् ।
बेठी लागिरहेका बेला बाहुसेका कोदाला र फ्याउरी तालबद्ध रूपमा चलेका
हुन्छन् । हलीले गोरु धपाउँदाको ह ह, स्थिर अवस्थाको “हो …हो … “तथा गोरू
घुराउँदाको“ हो….रा, पछाडि सार्नु पर्दाको पच पच भन्ने आवाजको ताल पनि बाजाको
तालमा मिलाइएको हुन्छ । यस्तो बाजासँगै ब्याडेहरूले बिउ उखेल्ने र फ्याँक्ने ताल पनि
मिलाइएको हुन्छ । बिउ फ्याक्नेले “भिजिएला है !“, आयो है, होसियार है, आछिछिछि का
साथै बिउ लिएका रोपाहार र कोदाली बोकेका बाहुसेहरूले हिलो छ्यापाछ्याप गरेको र
नाचेको देखिन्छ । बेठी बाजाका तालमा विविध गीत गाउने चलन पाइन्छ । त्यस्ता गीत
रोपाइँ आरम्भ गर्दा, खलो बाँध्दा, खाजा खादा, विदायी भोज खादा फरक फरक गाइन्छन् ।
बेठी लाउँदा र सामूहिक रूपमा रोपाइँ गर्दा खेतका मालिक र खेतालाबिचका
वर्गीय भिन्न पक्ष र त्यसबाट उब्जिएका अनुभूतिहरू पनि असारेगीतमा पर्याप्त पाइन्छ ।
लेखकले आफ्नै खेतमा दुई पटक बेठी लगाएको देखेको र त्यसको अनुभव पनि गरेको
थियो । यहाँ त्यस पक्षको सब्केत मात्र गरिएको हो ।
३.३. रामदली
रामदली गीत देशभर रोपाइँ गीतजस्तो प्रचलित छैन । यसलाई सिन्धुली जिल्ला र
यसको आसपासमा गाइने श्रमगीतका रूपमा चिनिन्छ । यो गीत जेठ महिनामा मकै गोड्दा
सामूहिक रूपमा गाइने हुँदा यसैलाई जेठेगीत भनेकोपनि पाइन्छ । यसको नामकरण चाहिँ
रामदली भाकाका नामबाट भएको देखिन्छ । मकै र अन्य बाली गोडमेलका बेला गाइने
भएकाले यसै गीतलाई गोडेलो भन्ने चलन पनि पाइन्छ (पराजुली र अन्य, पृ. ७१) । यस
गीतको गायन प्रायः मकैबारीमा मकै गोड्दा सामूहिक रूपमा गाइने हुँदा यसमा बाजा र
नृत्यको अभाव देखिन्छ । यस गीतको फरक विशेषता भनेको पुरुष पुरुषका बिच वा नारी
नारीका बिचमा मात्र गाइन्छ । रामदली गीतका केही नमुना यसप्रकार छन् ः
क) सिरीलाई सिरी बतासै चल्यो सिरिसे झ्यालैमा
टपक्क टिपी म लाने छैन मुखको ख्यालैमा
रामदली मैना, जाऊँ है
मधेसै ज्यानको लहरे पीपल भैँ छोयो टुप्पैले ।
यतिका उमेर घरबार छैन के ग¥यो रूपैले
रमदली मैना जाऊँ है ।
ख) यो चैतको मकै आऊ है
कुरै ज्यानको जोड्दैन आऊ है
परानधरि लगाएर आऊ है
फेरि भेट हुने कहिले आऊ है
रामदली जाऊँ बरिलै
रामदली जान्न रे
रामदली जाऊँ बरिलै
रामदली जाऊँ बरिलै । (पौडेल, पृ. १७५)
रामदली मकै गोड्दा जेठमासमा गाइने श्रमगीत हो । यस गीतमा कहीँ न कहीँ
रामदलीलाई सम्बोधन गरिएको हुन्छ ।
३.४.रसिया
रसिया गीत पनि श्रमगीत हो । यो रोपाहारहरूले लेघ्रो तानेर गाउने गीत हो । यो
गीत गाउँदा गीतसँगै हात पनि चलिरहेका हुन्छन् । रोपाहारहरू धान रोपिरहेका बेला एकै
लहरमा सँगै हुने भएकोले उनीहरूलाई समूहमा गाउन सहज हुन्छ ।
पूर्वतिर विशेषगरी ठूलो खलेगरामा भकारी बाँध्ने बेला सबै रोपाहार भेला भएर
बीचमा बीउको मूठो राखेर वरिपरिबाट बिउ छड्के पारेर यही गीतको तालमा रोप्दै पछि
सरेको दृष्य साँच्चै हेर्न लायक हुन्छ । यसमा एक जनाले गीत सुरु गरेपछि अरूले स्वर
थप्ने गरी गाइने चलन हुन्छ । रसिया गीतलाई अन्य गीतका टुक्का समेत जोडेर गाउने
गरेको पाइएको छ । यो गीत पनि असारे गीतकै एक भेद विशेष हो । जस्तै,
क) घुमाइमा घुमाई भकारी बाँध्नु हातैमा बिउ छन्जेल
हो ……हाई…..
राम्रैमा लाउँला मीठैमा खाउँला निरोगी जीउ छन्जेल ।
असारै मासको हिलो र आली मब्सिरको कचिया
हो ……हाई…….
आलीमा बसी सुनिदेऊ बाउसे म गाउँछु रसिया ।
ख) आज र मैले खेताला लाएँ आखुरे पाखुरे
हा……है…….
रात पनि प¥यो झ्याउँकिरी बास्यो
बिदा देऊ ठाकुरे ।
(पूर्व पाँचथर, तेह्रथुम, ताप्लेजुब, इलाम आदि क्षेत्रमा प्रचलित)
यो गीत रसियाका नामले चिनिए पनि प्रायः असारेगीतकै रूपमा चिनिएकाले
यहाँ बढी चर्चा गरिएको छैन । यस गीतलाई असारे गीतकै एक भेदका रूपमा अध्ययन
गर्न सकिन्छ ।
३.५ दाइँगीत
मब्सिर महिनामा धान भिœयाउने बेलामा खलामा दाइँ गर्ने क्रममा गाइने गीतलाई
दइँगीत भनिन्छ । यस गीतलाई मब्सिर महिनामा गाइने भएकाले मब्सिरे गीत पनि भनिन्छ
(कन्दब्वा, २०२०, पृ.२७) । दाइँबरदोगीत, दाइँमाडो गीत आदि यस गीतका अन्य नामहरू
हुन् । दाइँ गर्ने खलामा मियोको टुप्पोमा आएर बस्ने सिमलचरीलाई सहकालको प्रतीक मानेर
मियोको ओरिपरि मालदाम्लोमा बाँधेर गोरु घुमाउने क्रममा गाइने गीतलाई दाइँगीतका
रूपमा लिने गरिन्छ । लोकगीतका विभिन्न सन्दर्भहरूमा दाइँ लोकगीत पनि निकै प्रचलित
श्रमगीतका रूपमा रहेको पाइन्छ दाइँगीतमा दयरा बिचमै दोहोरी खेल्ने चलन पनि छ ।
त्यस्ता गीतका केही नमुना तल प्रस्तुत गरिएको छ ः
क) हो हो असी मुरी झरुवा बाह्रबिस रासा
चम्पा पूmल फुल्यो लब्का पुग्यो वास
हो हो माडो भाइ माडो भाइ
माल मदेशको सह पनि ल्याई
हा हो दाइँ बरादो दाइँ गर
पराल टिपी मुई गर
हो हो माडो भाइ माडो भाइ
अ ह ह ह ह ह … … ।
ख) धुपधुवाँर मेरो भाइ बरादो भूमेले खाए
यो काम गर्न तिमीलाई मेरा भाइ बरादो महादेवले लाए हहहहहहह
हिमालै पर्वतमा मेरो भाइ बरादो झुल्किहाल्यो घाम
गोरु खेद्ने लच्छेमण मेरो माइ बरादो, बिटा लाउने राम हहहहहहह..
(न्यौपाने, २०७६, पृ. ७८)
ग) माडी खोलौँ माडी खेलौँ माडी खेलौँ
माल मधेसको सह डाको
दाइँ बरदो हो
दाइबरदो
मिएका टुप्पामा बसिगयो कोइली
आजका दयरेलाई घिउका चोइली
हहहहहहहहहहह
हहहहहहहहहहह…. (पाँचथर, सुभाबनिवासी सोमनाथ लुइटेल, वर्ष ७० ले गाएको)
ग) माझका गोरुको, मेरो भाइ बरादो, बाटुलो जुरी
आजका रासमा, मेरो भाइ बरादो, सयबीस मुरी
मियोका टुप्पीमा बसिगयो सिमालचरी
आजका दयेँरेमा सह मुरीका मुरी
दाइँ गीतमा प्रशस्तै छेडखान पनि हुने गरेको पाइन्छ । यस्तो गीतमा दयारेहरूबिचमा
व्यब्गय गरेको र ठट्यौली गरेको पनि पाइन्छ ः
क) यिनै हाम्रा बरादोका, मेरो भाइ बरादो, लामालामा कान
लेइदेऊ अब भुमेदेउता, मेरो भाइ बरादो, खलाभरि धान
ह ह ह ह बरदो हो हो हो हो बरदो
ख) आजका दयेँरालाई, धानैधानको जुत्ता
गोरु खेद्ने बूढालाई, लात्तै लात्ताले हिर्का
मियोको टुप्पामा, मेरो भाइ बरादो, परालको मुठो
आजका दयेँरालाई, मेरो भाइ बरादो, मुसाको जुठो
ग) मियोका टुप्पामा, मेरो भाइ बरादो, बसिहाल्यो ढुकुर
गोरु खेद्नी बूढालाई, मेरो भाइ बरादो, काटिदिन्छन्कुकुर
घ) मियोको टुप्पामा, मेरो भाइ बरादो, बसिहाल्यो कोइली
आजका दयेँरालाई, मेरो भाइ बरादो, डढेको चोइली
(लेखकले बाल्यकालमा दाइँमा सुनेको)
विविध स्रोतबाट सब्कलित यी अंशले दाइँगीतमा हाँसो–ठट्टा हुने गरेको पनि
पाइन्छ । प्राय लोकगीतमा हाँसो ठट्टा र रमाइलो हुने गरेकै देखिन्छ । यस गीतलाई
मब्सिर पुसतिर धान भिœयाउने बेलामा खलामा दाइँ गर्न गाडिएको मियोको टुप्पोमा आएर
बस्ने सिमलचरीलाई सहकालको प्रतीक मानेर मियोको ओरिपरि मालदाम्लोमा बाँधेर गोरु
घुमाउने क्रममा गाइने गीतलाई दाइँगीतका रूपमा लिने गरिन्छ । मब्सिरमाा धान झार्ने
बिटा लाउने क्रममा पनि मब्सिरे गीतहरू गाइन्छन् । दाइँमा गाइने र धान काट्ता वा बिटा
लाउने गीतमा केही अन्तर छ । यहाँ यस पक्षको सब्केतमात्र गरिएको हो ।
३.६ पालाम÷धाननाच
पालाम पूर्वी नेपालको पाँचर तेह्रथुम, ताप्लेजुब, धनकुतातिर बसोबास गर्ने लिम्बू
जातिको प्रचलित गीत हो । यसर्ला कर्मगीतका रूपमा चिनाइएको छ ( कन्दब्वा २०२०, पृ.
२०६१) । यस गीतको गायनमा साइनो नलाग्ने नारी–पुरुष सहभागी भएर गाउँछन् । यस
गीतमा प्रायः लिम्बू जातिका मानिस मात्र सहभागी हुन्छन् । यो नृत्यगीत हो । यस गीतमा
नाचिने नाचलाई यालाब भनिन्छ । यालाबको नेपाली अर्थ धाननाच हो ।
यालाबको आधारमा यस गीतलाई श्रमगीत भनिन्छ । यस गीतको गायन र नृत्यमा
पाँचथरे, छथरे, ताम्राबे र कुसोक्पा भेद रहेको कुरा कन्दब्वा (२०२०, पृ. ६१) ले बताएका
छन् । यस गीतलाई गाउँदै केटाकेटी एकअर्काको हात समाउँदै पब्क्तिबद्ध वा वृत्ताकारमा
उभिएर रातभरि दिनभरि गाइहरन्छन् । यो गीत लामो भाका र विलम्बित लयमा गाइन्छ ।
यस गीतलाई गीतभन्दा पनि गाथाको रूपमा प्रस्तुत गरिन्छ । सुरुसुरुमा धान काटेर रुँगेर
खेतमा बस्ता गाइने भएकाले यसलाई धाननाचका रूपमा श्रमगीतकै रूपमा अथ्र्याइए पनि यो
अहिले लिम्बू जातिको सदाबहार गीत भएको छ । उनीहरू भेला हुँदा, नयाँ ठाउँबाट पाहुना
आउँदा वा नयाँ ठाउँमा जाँदा गाउँका युवायुवती र मूलतः नारीपुरुष जोकोही भेला भएर यो
गीत गाउने र नाच्ने गर्छन् । यो गीत लिम्बू भाषामै गाइन्छ । यसको लय टिपेर नेपालीमा
पनि गाउँने गरेको पाइन्छ । जस्तै,
शिव शंकर हरि, कठैबरी
पिपल झ¥यो पात, आज रात
नौ हाते नाउमा, यसै ठाउँमा
जल–थल पानी, खेतै हुँदा
लहनाले हो कि, भावीले
दानाले हो कि, पानीले
चिताको जस्तै, भेटै हुँदा
सल्लेरी सल्क्यो खोटैले
दोहोरी ज्यूसे, मतैले
परेवा घुर्छ, तीनै घर
दिनभरि भेन्छाब (नभए पनि) छिनघरी
पोसिलो पाटा तोरीबारी
छिनघरी सफ्फा (एक छिन), योरीबारी (हाँसो खेलौँ) …
(कन्दब्वा, २०२०, पृ. ६३–६४)
यस गीतलाई धाननाचमा गाउने गीत वा पालाम भनिए पनि पछिल्लो समय भने
यो लिम्बू जातिका बिचमा पर्व र उत्सवगीत जस्तै बनेको छ । यसका भेद उपभेदहरू विकास
भएका छन् । अहिले यो नयाँ पुस्ताभन्दा पनि पुरानो पुस्ताको गीत हुँदै गएको छ ।
३.७ साउनेगीत
लोकगीतका सन्दर्भमा साउने गीत भन्नाले साउन महिनामा गाइने, साउन
महिनासँगसम्बन्धित लोकगीत भन्ने बुझिन्छ । श्रमगीतअन्तर्गतको साउने गीत भन्नाले
साउनमा काम गर्दा मेलापातमा गाइने गीत भन्ने अर्थमा साउने गीतको परिचय उल्लेख्य
छ । पूर्वतिर यस गीतलाई कोदो रोप्दा गाइने गीत भएकाले कोदेगीत भनेर पनि पुकारिन्छ ।
साउने गीत गाउने परम्परामा विभिन्न शैली फेला पर्छन् । गीत आरम्भ गर्ने, गीत
छोप्ने र रहनी राख्ने गरी तीनप्रकारका हुन्छन् (थापा, पृ. ६१–६२) । यसगीतमा नारी पुरुष
दुवैको संलग्नता रहन्छ । पराजुली (२०६४, पृ२१५) का अनुसार यस गीतमा एक जना
पुरुषले बोल झिकेपछि स्त्रीहरूले छोप्ने गरी लामो स्वरमा गाइन्छ । गीत टुब्ग्याउँदा पनि
पुरुषहरूले नै हो हो गर्दै एकचरण गीत पूरा गर्छन् । यसरी आरम्भ र पूर्ण हुने गीत गायनको
क्रम निरन्तर चलिरहन्छ ।
साउने गीतलाई साउने भाका, साउने लालैजो र झरीगीत पनि भनेको पाइन्छ ।
यी विभिन्न नाममध्ये साउनमा गाइने गीत भन्ने अर्थमा साउने गीत नै उपयुक्त नाम लाग्छ ।
यस्ता गीतमा साउन महिनाको हावापानी वा झरी वर्षाको पनि चर्चा गरिने भएकाले माथिका
फरक फरक नाम रहेका हुन सक्छन् । साउने गीतका केही उदाहरणहरू यसप्रकार छन् ः
क) हिमालैचुली त्यो पल्लोपटि चउँरी गाइको गोबर
भरौँ त पाथी जोखौँ त तुलो कसको माया दोबर
सिब्गै र लामो पुच्छरै छोटो मधिसे राँगाको
घर पनि छैन थर पनि छैन वैरागी नागाको ।
(पराजुली, २०५८, २१६)
ख) संगीलाई सोध्यो
दिनभरि खोज्यो
कहाँ र गै त्यो मायालै
काँ र गै त्यो मायालै
सोध्यो दिनभरि खोज्यो
काँ र गै त्यो मायालै
बेला नमारीद्यौ चेला
काँ र गै त्यो मायालो ओहोई ओहोई ।
(न्यौपाने, २०७६, पृ. ७७)
ग) आजमा मैले अचम्मै देखेँ
रुखमाथि रुखै छ
जतामा जान्छु दुःखीको छोरो
दुःखमा दुखै छ ।
घ) कोदाली आफैँ धानीको उठाई
धरती धसौँला, खनौँला
जो भनी आइयो सो उठी गयो
को भनी बसौँला ?
ब) हासेर बोलौँ लागेको थियो
घुमले छेकियो
साउने झरी परेर माया
घुमले छेकियो ।
च) रोकिन्न झरी सात् दिन भयो
पैह्रोले किच्छ कि
मेलामा पनि भेट हुन छाड्यो
ज्यान यसै बित्छ कि
न धान रोप्ता भेटियो बरै
न गोड्दा भेटियो
खेतमा पानी लाउन जाँदा
न कतै देखियो ?
रोप न रोप कोदेरी बैनिऊ
खनौँला बिउ दिउँला
अरुलाई दिउँला बोली र वचन
रोप्नेलाई जिउ दिउँला ।
माथिका कतिपय उदाहरण लेखकले साउने बाली कोदो लगाउँदा सुनेका गीत
हुन् । यी गीत मुखाग्र भएर रहेकाले पनि यहाँ सन्दर्भन गरिए न । यी गीतले साउने मौसम
र साउने श्रमका विविध पक्षलाई समेट्न सकेको देखिन्छ । प्रायः साउने गीतमा झरी, वर्षा,
सुख–दुःख, नारी–पुरुष दुवै भावना पाइन्छ ।
३.७ भदौरे ÷भैँजडी
लोकगीतमा भदौरे भन्नाले भदौको, भदौसम्बन्धी, भदौमा गाइने भन्ने अर्थ बुझिन्छ ।
यस गीतलाई भदौरे र भदैया (भदौ+ऐया) भनिएकोपनि पाइन्छ । यसगीतलाई नेपालको
पहाडी भूभागमा श्रमगर्दा गाइने गीत मानिन्छ । यो गीत बालीनालीको गोडमेल गर्दा गाइने
गीत भनिन्छ । यो गीत बाजागाजा र नृत्यविनै कामका सुरमा गाइने प्रचलन छ । यस गीतमा
नारी पुरुष दुवैको सहभागिता रहन्छ । यस गीतलाई पुरुषले भाका झिक्ने र स्त्रीले छोप्ने
गरेर गाइने (पराजुली, २०५८, पृ २१६) भनिए पनि स्त्रीले भाका झिक्ने र पुरुषले छोप्ने
गरेर पनि गाएको पाइन्छ ।
बाजा र नृत्यविहीन गीत मानिए पनि सुदूरपश्चिमतिर कोदो गोढ्ने बेलामा ढोलक
बजाउँदै गाउने गरेको भन्ने पनि पाइन्छ (थापा, २०२०, पृ. ४०६) । थापाले दिएको भदौरे
गीतको नमुना यस्तो छ ः
कोदाकी खेडी दिय मेडा भेडी
बदेलो आलो तमरी खेडी ।
आम रूपमा हेर्दा यो गीत बाजा नृत्यविहीन गीत हो । कतै असारे गीतमा बेठी
लगाउने चलन र मब्सिरे गीतमा च्याब्रुबसहित धाननाच्ने चलनअनुसार हेर्दा कोदो सप्रिएर
आएका बेला वा धानको रोपो सफ्रिएर आएका बेला कृषकहरूले बाजासहित उत्सवका साथ
त्यसको गोडमेल गर्न नसक्ने चाहिँ दैखिँदैन । यस गीतलाई भदौरे झरीमा गाइने हुँदा
झरीको गीत पनि भनिएको पाइन्छ । यसै गीतलाई सालैजो भाकामा गाइने भएकाले भदौरे
सालैजो र झ्याउरे भाकामा गाइने भएकाले भदौरे झ्याउरे भन्ने गरेको पनि पाइन्छ । भदौरे
गीतका केही नमुनाहरू यसप्रकार छन् ः
क) पुरुष– हो सिरैमा लाउँलालाई खटुवै तोपी, फूलै लाउँला बामरी
स्त्री – फूलै लाउँला बामरी
पुरुष – हे लाउँला खटुवै आ
स्त्री – फूलै लाउँला बामरी
पुरुष– हा हामी नै जान्छुलाई मौलानै काती, बस मयाँ रामरी
स्त्री – बस मयाँ रामरी
पुरुष – हे काती मौलानै आ
स्त्री – बस मयाँ रामरी
पुरुष–स्त्री– ओहोइ…
(न्यौपाने, २०७६, पृ ७७)
ख) भदौ र महिना मकै खाउँला
मयालु चेली बसेका ठाउँमा पैताला पैल्याउँला
हो सुन सिरफूल माया !
आँधीमा खोला कतले माछा किनी खाउँला दामैले
हो सुन सिरफूल माया !
कि र म आउँला निमरसै पारी कि आउँला कामैले ।
(पराजुली, २०५८, पृ.२१७)
ग) पुरुष– हो याकासैभरि नौलाखै टारा, मैमा गन्न सउडैन
स्त्री– मैमा गन्न सउडैन
पुरुष – भरि नौलाखै आ
स्त्री– मैमा गन्न सउडैन
पुरुष– हा भेटको कुरामा सैमुख आउँछ, मै र भन्न सउडैन
स्त्री – मै र भन्न सउडैन
पुरुष – हे कुरा सैमुख आ
स्त्री – मै र भन्न सउडैन
पुरुषस्त्री– ओहोइ
घ) घुमीलाई घुमी आक्कासै पुग्यो चील हैन बाजै हो
पिरती लाको वर्ष दिन भयो भेट भाको आजै हो
बटौलीमुति तिनुब्के खोला फनफनी घुमेको
खुसिया ज्यानको रूपडालैदेखि ज्यान मैले हुमेको
बाटैमा माथि अरिँगाले गोला पोलौँ कि नपोलौँ
हितैको माया घरबार भैछौ बोलौँ कि नबोलौँ ?
तिनैमा शहर यो नेपालैमा बाघ लाग्यो दुर्जन
मुखले भने ललितै पाछ्र्यौ पेटको दुर्जन
बाबार ज्यूको मितेरी बारी हरियो जौ भयो
बालखु दिनमा लाएको माया छुटन धौ भयो । (पराजुली, २०५८, २१७)
नेपाली लोकगीत परम्परामा भदौरे गीतकै एक भेदका रूपमा भैजडी गीत पनि
प्रचलनमा रहेको देखिन्छ । यो गीतलाई पनि साउन–भदौ महिनामा पाखाको अन्न बाली
गोडमेल गर्दा गाउने गीतका रूपमा चिनाएको पाइन्छ । यस गीतलाई गाउने शैली भदौरे
र साउने गीत जस्तै हुन्छ । यहाँ यस गीतलाई नै शीर्षक बनाएर छुट्टै उपशीर्षक प्रस्त
गरिएको छैन ।
३.८ भारी उचाल्ने गीत
भारी उचाल्ने गीत नेपाली लोकगीतमध्ये श्रमगीतको एक प्रकार विशेषका रूपमा
परिचित छ । यस गीतलाई गहु्रङ्गो भारी वा भार उचाल्न सामूहिक सामथ्र्य जुटाउने क्रममा
गाइन्छ । सामूहिक सामथ्र्य प्रयोग गर्दै गह्रुङ्गो भारी वा भार उचालेर लक्ष्यमा पु¥याउने क्रममा
सामूहिक रूपमा गाइने हुँदा यसलाई ।।।भारी उचाल्ने गीत’ भनिन्छ । यसलाई पहाडतिर प्रायः
निदाल बोक्ता, ठुलो काठ, ढुँगा बोक्ता गाइने गीतका रूपमा चिनिन्छ ।
काम गर्दा सामूहिक बल जुटाउनका निम्ति गाइने चलन रहेकाले यस गीतलाई
भारी उचाल्ने गीत भनिएको हुन सक्छ । यस्तै प्रकृतिको गीतलाई नेपालको सुदूर पश्चिमतिर
“कात्तिके गीत” भनेर चिनाइएको पाइन्छ । यस गीतमा “हम्भाइ”, हैँसा, हइट भन्ने थेगोको
प्रयोग गरिन्छ । पश्चिमतिर कात्तिके भनेर चिनिने यस गीतमा हम्भाइ थेगो प्रयोग गरिन्छ
भन्ने चालिसे (२०३९, पृ. १४४–१४५) को कथनले यो गीत नेपालको पूर्व पश्चिम सबैतिर
प्रचलित छ भन्ने बुझिन्छ । नेपालको पश्चिमाञ्चलमा भने यो भारी उचाल्ने गीत गाउँदा
एकजना व्यक्तिले भट्याउँछ अनि अन्य सबैले “हम्” भन्ने थेगोको प्रयोग गर्ने गरेको पाइन्छ
(न्यौपाने, २०७६, पृ. ८०) । यी साक्ष्यले भारी उचाल्ने वा कात्तिके गीत देशैभरि गाउने गरेको
बुझिन्छ ।
प्रस्तुत गीतलाई बाजा तथा नृत्यबिना नै गाइन्छ । यो गीत गाउनुको मुख्य उद्देश्य
भारी उचाल्ने कामलाई सहज वा हलुङ्गो तुल्याउनु हो । यो गीत विशेष गरी विभिन्न जातिका
पुरुषहरूले गाउने गर्दछन् । बलको काम गर्दा गाइने हुँदा यसलाई पुरुषगीतका रूपमा
चिनाउन सकिने देखिन्छ । यस गीतको गायनमा उच्चमध्यम स्वरमा एउटाले भट्याउने
र अरूले ।।।हम्’ हैसा, वा हँ भनेर चिच्याउँदा गाउने तथा सुन्ने सबैले रमाइलो अनुभव
गर्दछन् अनि ठुलो सामान उठाउन भेला भएका सबै व्यक्ति पनि भारी उचाल्ने कार्यमा साथ
दिन्छन् । यसरी भारी उचाल्ने कार्यमा सहयोगी बनेको एउटा गीत भारी उचाल्ने गीत हो ।
वातावरणलाई रमाइलो तुल्याउन कुनै बेला अश्लील, श्लील, सहभाव झल्कने, उत्साह र
बल प्रयोग गर्ने खालको अन्तरा गाउने चलन पनि छ ।
भारी उचाल्ने गीतलाई ठाउँअनुसार फरकफरक भेदमा गाउने गरेको पाइन्छ ।
यो गीतलाई कात्तिके गीत भनिए पनि यसको सम्बन्ध कात्तिकको श्रमसँग त्यति सम्बन्धित
छैन । कात्तिके गीत छुट्टै श्रमगीतका रूपमा देखापर्छ । भारी उचाल्ने गीतका केही नमुना
यसप्रकार छन् ः
ए बल् गर भाइ्हो हम्
ए उचाल भाइ्हो हम्
ए राजाको दलिन हम्
ए लहै भाइ हो हम् .. . ( न्यौपाने, २०७६, पृ. ८०)
यस गीतलाई प्राय सबै ठाउँमा घरका निदाल, दलिन, घरको मूल खाँबो मान्द्रे
ढुब्गो आदि उठाउँदा, छातेढुब्गो आदि बनाउँदा, ठुला रुखका मुडा पल्टाउँदा, काठ
चिरानका क्रममा धरान उठाउँदा गाइने श्रमगीत हो । पूर्व पाँचथरमा काठलाई धरान
चढाउँदा गाइने एउटा श्रमगीतको नमुना यस्तो छ ः
अक्कासै थर्काऊ हैँसा
पत्तालै थर्काऊ हैँसा
पिर्थिबी थर्काऊ हैँसा
हिमालै थर्काऊ हैँसा
पहाडै थर्काऊ हैँसा
उचाले भाइ हो हैँसा
उचाले भाइ हो भनेर वृद्ध वा ज्येष्ठ सदस्यले भनेपछि सबैले हैँसा भनेर एकैचोटि
उठाउने गरेको पाइन्छ । यो भरियाको ढाकर वा ठुलो भारी उठाउने बेला पनि कतै गाइए
पनि मूलतः ठुलो भारी उठाउँदा गाउने गीत हो भन्ने देखिन्छ । पहाड्रै बोके हैट्, हैँसा, हम्
जस्ता थेगाले यही पक्षको पुष्टि गर्दछ ।
३.९ कात्तिके गीत
कात्तिक महिनामा नेपाली कृषि परम्परामा कतै अन्न पाक्न थाल्ने कतै पाकेको
धान बाली उठाएर नयाँ बाली गहुँ, जौ, साग, गाजर, मुला तरकारी आदि लगाउने समय
पर्दछ । हिउँदे बाली लगाउने र धानबाली भित्र्याउन थाल्ने समय पनि भएकाले कार्तिक
महिनामा गरिने श्रममा विभिन्न लोकगीत गाइन्छन् । काक्तिक + ए वा कात्तिकको विशेषता
बोक्ने अर्थमा नामकरण गरिएको यस गीतमा भदौरेको जस्तै गायन शैली पाइन्छ ।
खेतखन्दा खन्दै वा सागसब्जीको बिउवीजन लाउँदा लाउँदै एकजना श्रमिकले
उभिएर गीत गाउन सुरु गर्ने र अरु मिलेर उसलाई सघाउँदै काम गर्ने उर्जा थप्ने अर्थमा
गाउने गरिएको पाइन्छ । यस गीतलाई खेत खन्ने उत्साहका लागि गाइने अर्थमा पनि
चिनाएको पाइन्छ (चालिसे, २०३९, पृ. २१७) । यो गीतको गायन गर्ने शैली श्रमगीतमध्ये भारी
उचाल्ने गीत र सांस्कृतिक गीतमध्ये देउसी गीत जस्तो शैलीमा गाइन्छ । जस्तै,
खन खन वीरौ ! हम्भाइ
फुएको माटी हम्भाइ
खनीजोती हम्भाइ
छिटाइ सक हम्भाइ
बान्या गै भो हम्भाइ
बल्ले छाड्यो हम्भाइ
लौ लाग वीरौ ! हम्भाइ
स्यावासी वीरौ ! हम्भाइ
कात्तिक मैना हम्भाइ
तालेमाणा खाला हम्भाइ (पराजुली, २०५८, पृ.२१८)
कात्तिके गीत कात्तिक महिनामा पर्ने कामअनुसारको श्रमसँग सम्बन्धित गीत हो ।
यस गीतलाई भारी उचाल्ने गीतसँग निकट यसको हम्भाइ भन्ने थेगाले दिन्छ भने साउने
भदौरे असारे आदि गीतसँग मिल्दो यसको गाउने समय र अनुष्ठानले देखाउँछ । यहाँ यस
गीतको सब्केत मात्र गरिएको छ ।
नेपाली श्रमगीतको चर्चाका क्रममा फेरी गीतको चर्चा भए पनि फेरी वा फिरी
गीतलाई संस्कृति गीतकै रूपमा मानी यहाँ चर्चा गरिएको छैन । नेपाली श्रमगीतको थप
सबकलन, अध्ययन र विश्लेषण गर्न आवश्यक देखिन्छ । कृषिप्रधान नेपाली समाजमा
ठाउँअनुसार यहाँ उत्पादन हुने खाद्यान्न, दलहन, तर्कारी, तेलहनसँग सम्बन्धितअनेक गीत
छन् । तेलपेल्दा, उखु पेल्दा गाइने कति गीत पब्क्तिकारले सुनेको र प्रयोग पनि गरेको
स्मृतिका आधारमा पनि नेपाली श्रमगीतका अनेक सम्भावनाहरू रहेको अनुमान छ ।
थिच थिच थिच थिच
मुडामाथि चढी थिच
ढुब्गामाथि चढी थिच
पेखिएला तेल थाप
कस्तो आयो तेल थाप ।
(पाँचथर, सुभाबकी वृद्धा वत्सला लुइँटेल, वर्ष ७५ का मुखबाट लेखकले सुनेको)
यस साक्ष्यले पुरानो प्रविधिअनुसार काठको कोलमा काठैले थिचेर ढुब्गा आदि
गह्रौँ वस्तुले थिच्ने र त्यसमा मानिसले समेत बल लगाएर पेचामा तेल पेल्ने गीतको नमुना
देखाउँछ । यसरी नै ढिकीकुट्ता गाउँने गीत, जाँतो पिस्ता गाउँने गीत, घाँसदाउरा गर्दा
गाउने गीत, हलो जोत्ता, बारी खन्दा, पँधेरामा पानी भर्दा र बोकेर फर्कँदा, वनमा कुनै ठुलो
रुख ढालदा, लप्सी, ओखर, कटहर, चिउरीआदि अग्लो रुखका फल झार्दा गाउँलेहरू
एकैठाउँमा भेला भएर बाँडेर लैजाने चलन अहिले पनि गाउँमा सुरक्षित छन् र त्यस्तो
समयमा गाइने गीत पनि प्रशस्तै छन् । कतिपय संस्कृतिसँग जोडिएका पात टिप्ता, लिब्गो
काट्ता, तोरण टाबदा, गेट बनाउँदा, भोज भतेरमा खानेकुरा पकाउँदा, ठुला भाँडाकुँडा
माझ्दा, घरमा कमेरो रातोमाटो पोत्ता वा छ्याप्ता, घर छाउँदा, बाता चोया आदि काड्दा,
बाता, चोयाआदि काढ्ने बाँस ढाल्दा, पात गाँस्ता, वत्ती कात्दा, तान बुन्दा, मेला पातमा काम
गर्ने खेतालालाई दोपहरे बनाउँदा, खेतमै मकै, आलु उसिनेर पोलेर खाजा बनाउँदा, खाजा
बाँड्दा, मेलो सुरु गर्दा, मेलो छोड्दा, जब्गली खाद्यवस्तुहरू च्याउ, निगुरो, वनरायो,
कोइरालो, वनतरुल, भ्याकुर आदि खोजीगर्दा खन्दा, टिप्ता, काट्ता, शिकारमा निस्कँदा,
किकार बाँड्दा, बोका, थुँबा गोरु राँगा आदि खसी पार्दा गाउने कतिपय लोकगीतहरूको
सब्कलन हुन सकेको छैन । लोकगीतले लोकअनुभवको संरक्षण गर्नका साथै मनोरञ्जन र
बहुमुखी संस्कृति, श्रम, प्राप्ति, अप्राप्ति एवम् समाज मनोविज्ञानलाई समेटेको हुन्छ (शुभेच्छु,
२०७६, पृ. ४५) भन्ने देखाउन बाँकी नै छ । नेपाली श्रमशैली र प्रकारसँग सम्बन्धित
अनेक लोकगीतको खोजी गर्न र तिनमा निहित अन्तरचेतनाको निरूपण गर्न सके नेपाली
लोकसांस्कृतिक ज्ञानका क्षेत्रमा नयाँ उपलब्धी हुने देखिन्छ ।
४. निष्कर्ष
नेपाली समाज श्रममा आधारित समाज हो । यहाँ कृषिकर्म र पशुपालनका कारण
अधिकांश मानिस श्रमशील जीवन बाँचिरहेका हुन्छन् । त्यसरी श्रममा लागिरहँदा श्रमको
थकान मेट्न र बढीभन्दा बढी काम गर्ने पुनर्ताजकीका लागि श्रमगीत गाइन्छन् । त्यस्ता
गीतहरूमध्ये जेठे, असारे, साउने, भदौरे, कात्तिके, मब्सिरे वा दाइँगीत, पालाम वा धाननाच,
भारी उचाल्ने गीत आदि प्रचलित छन् । नेपाली समाजमा यस्ता गीत कतै सब्गीत र
नृत्य तŒवसहित गाइन्छन् भने कतै काम गर्ने औजारका तालमा गाइन्छन् । यस्ता गीतमा
छिपेको श्रमशील समाजका मानसिकताको जेजति अध्ययन अनुसन्धान हुनु पथ्र्यो त्यो हुन
सकिरहेको छैन । नेपाली श्रमगीतलाई महिना महिना भन्दा पनि श्रमको प्रकृतिअनुसार
अन्वेषण र सब्कलन हुन आवश्यक छ । यी गीतको सम्बन्ध पर्व, संस्कृति, अलगअलग
बाली, अलगअलग ऋतु, महिना, बालीका पनि बिउविजन राखने, रोप्ने, गोड्ने, मलजल
गर्ने र थन्क्याउने, न्वाँगी गर्ने, बाँडेर चाख्ने आदि अनेक व्यवहारसँग जोडिएका हुन्छन् । यी
विविध पक्षको अध्ययन अनुसन्धान गर्न सके नेपाली समाजको श्रमशील जीवनका बौद्धिक
सम्पदालाई बुझ्न र त्यहाँको वैयक्तिक, वर्गीय एवम् सामूहिक ÷सामाजिक मनोविज्ञान र
लोकविश्वासलाई बुझ्न सकिने देखिन्छ । नेपाली श्रमगीतहरू मेलापात र बालीनालीमा
छोपिएको बौद्धिक सम्पदा हुन् । यिनीहरूमध्ये धानसम्बन्धीको लोकगीत र कविताको मात्र
अन्वेषण गर्न सके पनि नेपाली कृषिसम्भयताका बहुमुखी ज्ञानका शाखा फेला पर्ने देखिन्छ ।
ìì
सन्दर्भ
कन्दबवा, काजिमान (२०२०). नेपाली जनसाहित्य. काठमाडौँ ः रायल नेपाल एकेडेमी ।
चलिसे, विजय (२०३९) डोटेली लोकसंस्कृति र साहित्य. काठमाडौँ ः साझा प्रकाशन ।
थापा, धर्मराज (२०३०). गण्डकीका सुसेली. काठमाडौँ ः नपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
थापा, धर्मराज (सम्पा.) (२०२०) हाम्रो लोकगीत काठमाडौँ ः रेडियो नेपाल ।
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक. काठमाडौँ ः वीणा प्रकाशन प्रा.लि.।
पराजुली, कृष्णप्रसाद (२०६४). नेपाली लोगकीतको आलोक (दो.सं). काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
बन्धु, चूडामणि (२०५८). नेपाली लोकसाहित्य. काठमाडौँ ः एकता बुक्स ।
शर्मा, मोहनराज र लुइटेल खगेन्द्रप्रसाद (२०६३).लोकवार्ताविज्ञान र लोकसाहित्य. काठमाडौँ ः विद्यार्थी
पुस्तक भण्डार ।
शुभेच्छु रमेश (२०७६). लोकगीतको सैद्धान्तिक विमर्श. भानु (५७÷२३३) पृ.१९–४६ ।
शुभेच्छु, रमेश (२०७७). लोकगीतका विशेषताको निरूपण. भानु (५७÷२३४). पृ.२०–३१।
न्यौपाने, कुसुमाकर (२०७६). नेपालीका विशेष लोकगीत, जगदम्बा नेपाली साहितयको बृहत् इतिहास.
सम्पा. माधवप्रसाद पोखरेल र चूडामणि बन्धु र दयाराम श्रेष्ठ. ललितपुर ः कमलमणि
प्रकाशन. पृ ७३–१०६ ।
