बाटो–संवाद

निबन्ध विचार / लेख

आत्माराम खरेल ( २०१२, काठमाडौँ) अनेक देश विदेशका अनुभव पछि हाल

साहित्य सिर्जनामा सक्रिय प्रतिभा हुन् । उनको पहिलो रचना ‘भारत हाम्रो छिमेक’ निबन्ध

‘भारत समाचारपत्र’मा वि.सं. २०३० साल फागुनमा प्रकाशित, भएको थियो । उनको पहिलो

प्रसारित रचना ‘भानु ः व्यक्तित्व र कृतित्व’ निबन्ध ‘रेडियो नेपाल’बाट वि.सं. २०३१ असारमा

प्रसारण भएको थियो । सोही साल भदौमा ‘टोपी’ (निबन्ध) राष्ट्रिय दैनिक ‘गोरखापत्र’मा

पहिलो पटक प्रकाशित भएको थियो । उनका के लेख्ने ? (निबन्धसङ्ग्रह), मसलाको पोको

र प्रणय जाल (उपन्यास), सुधासागर खण्डकाव्य जस्ता कृतिहरू प्रकाशित छन् । उनी

पछिल्लो समय निबन्ध सिर्जनामा लागिरहेका छन् । उनका निबन्धमा जीवनअनुभाव र

सामाजिक समस्याहरू जीवन्त बनेर आएका हुन्छन् । उनका दर्जनौँ निबन्धहरू पत्रपत्रिकामा

छरिएर रहेका छन् । ‘भानु’ मासिकको प्रस्तुत शृङ्खलामा उनको ‘बाटो संवाद’ शीर्षकको

निबन्ध समेटिएको छ । यस निबन्धमा बाटो हिँड्दा एक्लै बोल्दै आपूmमा आफैँ हराउँदै हिँड्ने

मानवीय स्वभावलाई विषय बनाइ निबन्ध सिर्जना गरिएको छ । यस निबन्धमा आंशिक

समाज र व्यक्ति मनोविज्ञान समेटिएको छ । — सम्पा.

 

 

एक्लै हिँड्दै आइरहेछु । अब म आफैलाई हेर्छु र थाहा पाउँछु – जब गाडी चढ्छु

मेरो समय गाडीको बन्धनमा हुन्छ । तर, म हिँड्दाको समय मेरो खुसीमा हुन्छ । र त, एक्लो

हिँडाइमा नै आमचरित्र, सडकको गतिविधि र मौसमी वातावरणको मापनसमेत मानसिक

रूपमा भइरहेको हुन्छ ।

एक्लो हिँडाइँ निस्तो हिँडाइ होइन । वरपरको दृश्य र जनजीवनसमेत अनुभूत

गर्दै जानु हो । सहरीया–बजारीयालगायतको संवादमा आफूलाई पनि समाहित गराउनु

हो । भीडभाडमा हुने ठक्कर पनि थप अनुभव हो । हतारिएको मुहार–भाव सहरिया जीवनशैलीको

चित्र हो । हतारिएको आवाज व्यापारी र बजारियाको तत्कालीन परिस्थिति हो ।

बाटोमा हिँड्दै गर्दा हुने स्वसंवाद एक बानी हो । स्वसंवाद आफैमा एक कला

हो । आफैसित गरिने तर्क–वितर्क हो । एक अभौतिक साथी पनि हो । स्वसंवाद मेरो एक्लो

हिँडाइको अभिन्न पाटो बन्दै आइरहेको छ । हिँड्दा त्यहाँको परिवेशसँग यो मन एकाकार

भइरहेको हुन्छ । हिँड्दाहिँड्दै कुनै रमाइला मान्छे देखिए भने, तिनका हुलिया र आवाज

दिमागमा रेकर्ड हुन थाल्छन् । त्यो ‘मेमोरी’ जब कुनै बखत नयनसामु ‘प्ले’ हुन्छ तब

मलाई सुझ्छ – एक्लो हिँडाइमा हुने ज्ञान, अनुपम ज्ञान हो । पैदल यात्राका परिवेशलाई

मस्तिष्क–रेकर्ड गर्नु एउटा कला हो । लेखन खुराक पनि हो । र त, एकलयात्रीका लेखनमा

स्वयम्देखि सडकसम्म, पिँधदेखि आकाशसम्मका प्रसङ्ग पनि अभिव्यक्त हुन जाँदोरहेछ ।

‘आफू को हुँ ? जीवन के हो ? यो जीवन कसरी बाँच्नु पथ्र्यो ? कसरी बाँचिदै

आइएछ ?’ लगायत प्रश्न विविध छन् । ती एकदमै बाक्ला छन् । तिनका उत्तर भेट्टाउनै

गाह्रा छन् । जति भेटिन्छन् ती एकदमै पातला छन् । र पनि, यो जीवन किन त्यही पथ

पछ्याउँदै आइरहेछ ?’ त्यही बाटोसामु विद्युतीय झड्का लाग्ने काँडेतारको छेकाबार

भइरहन्छ । अजङ्गको पहाडै खडा भइरहन्छ । आफूलाई प्रश्नैप्रश्नको चाङभित्र छिराउनमै

वर्षौँदेखि बल गर्दै आइरहेछु । एक दह्रो उत्तरको खोजीमा देखिने छेकाबार हटाउमै वर्षौंदेखि

मानसिक सङ्घर्ष गर्दै आइरहेछु । समाधानकै खोजीमा आर्थिक र शारीरिक सङ्घर्ष पनि

खेप्दै आइरहेछु ।

कहिलेकाहीँ त परिवेश नै अनौठो हुन्छ ! लेख्न खोज्छु– कसैले कलमै

खोसिदिन्छ । बोल्न खोज्छु– कसैले मुखै टालिदिन्छ । उठ्न खोज्छु– कसैले टाउकै

थिचिदिन्छ । अलिक बेरपछि हिँड्न खोज्छु– मेरोसामु उही पर्खाल तेर्सिदिन्छ । र, मेरो

हिँडाइ पनि रोकिदिन्छ । घाम पनि छेकिदिन्छ । तर, त्यही पर्खाल हो जसले मलाई बुई

गरेर घामको न्यानो दिलाउँछ । केही नियाल्न खोज्दा आफ्नो काँधमा राखेर पर–परसम्मको

क्षितिज नियाल्न पनि सघाउँछ । गर्मी हुँदा यही पर्खाल नै छाया बनिदिन्छ । र त, बाँकी

पथ जति नै घुमाउरो, उकालो या ओह्रालो भए पनि यो जोर पैताला यदाकदा वैकल्पिक

पथ भइ अघि लम्किदिन्छ ।

दिनहुँ दोहोरिने सडकयात्रा, एक सडकजात्रा पनि हो । सधैँ उही मान्छे, उही

अनुहार, उही घर । झ्याल–ढोका, मन्दिर, पूजारी, पसल सबका सब उही । आज अर्को

एक पैदलयात्रु बाटो बदल्न चाहिरहेछ । आफ्नो मनसित ‘रूट परमिट’ मागिरहेछ । तर,

ऊसित साविकको हुलिया पो छैन । किनकि आज उसले साविकमा लगाउने कपडा बदलेको

छ । मनी पर्स पनि बदलेको छ । कस्तो विचित्रको छ– मानव स्वभाव र मानसिकता । जब

उसले कपडा बदल्छ तब बाटो पनि बदल्छ । बानी–व्यवहार पनि बदल्छ । र, सवारी साधन

पनि बदल्छ । हेर्नोस् त ! आज उसले भाडामा कपडा लिएर साविकको कपडा बदल्यो । र,

यतिबेला उसले साविकमा प्रयोग गर्ने सवारी साधन सार्वजनिक बसको साटो ट्याक्सीमा

चढ्यो । किनकि केही दिनअघि उसले आजको लागि एक विवाह भोजको निम्तो कार्ड

पाएको थियो ।

ओपन साइजको खाटझैँ छ– सडक । आरामदायी भुइँ बिछ्यौना साइजको छ–

फुटपाथ । सडक विस्तार कार्यले फुटपाथ समेत अस्तव्यस्त छ । सडक र फुटपाथ त सदाभैmँ

माटो, धुलो र धुवाँले ग्रस्त छ । यसका लागि ‘मास्क लगाउनु’मा नै आफ्नो कर्तव्य सीमित

पारिरहेछु । पानी पर्दा हिलोबाट बच्नै सकिन्न । तुन्दु्रङ्ग झुन्डिएका बिजुली, टेलिफोन

र केबुल तारमा कतिखेर, कुन ठाउँमा यो शिर अल्झिने हो भन्नै सकिन्न । हुरीबतासले

नै पनि ढलिहाल्छन् कि जस्ता बिजुली र टेलिफोनका पोलबारे त सम्झँदा पनि भाउन्न

हुन्छ । सायद एक्लो हिँडाइमा यी र यस्तै प्रसङ्गहरू यो मस्तिष्कमा रेकर्ड हुन्छन् ।

भित्री सहरको मध्यभागतिर एक्लो यात्रा गरिरहेछु । स्वसंवादलाई निरन्तरता

दिइरहेछु– कसैको आर्थिक जीवन सडकमा गाडीमय भइरहेछ । कसैको अपाङ्ग जीवन

फुटपाथमा घस्रिरहेछ । फुटपाथलाई सहरी विकासले थिचेका छन् । दुष्चरित्रले मिचेका

छन् । बिजुली र टेलिफोनका पोल ठड्याएका मात्र होइनन् रुख–विरुवा पनि त्यहीँ

उमारिएका छन् । अलिक परसम्म आँखा तेस्र्याउँछु– दुष्चरित्रले नमिचेको ठाउँ कतै

छैन । फुटपाथ अझ साँघुरियो कि भनी चिन्ता नगरी सुखै छैन ।

आफू गइरहनुपर्ने नयाँ सडक, इन्द्रचोक, असन, कान्तिपथ, जमल,

बागबजारलगायतका ठाउँमा त हिँड्ने बाटो फेला पार्न दिमागी कसरत गर्नुपर्छ । बल्लतल्ल

फेला परेको दुई बाइ दुई फिटको बाटोमा पनि निसासिएर हिड्नुपर्छ । आफ्नो सुरमा होइन

भीडको गतिमा हिँड्नुपर्छ । फुटपाथ साँघुरिँदै जान्छ, भिड बढ्दै जान्छ । निकै मेहनतका

साथ भीडलाई छिचोल्नुपर्छ । र, मैले त्यो भीडमा झनै निसासिएर हिँड्नुपर्छ । सधैँको

ठाउँबाट बाटो काट्न खोज्यो जेब्राक्रस देखिँदैन । पिचमाथि पिच गरिएर सडक नयाँ

बनाइएको पनि १५ दिन भइसक्यो तर जेब्राक्रसको चिन्ह पेन्ट भा’छैन । अलिक परतिर

भएका जेब्राक्रसका पेन्टिङ पनि खुइलिएका छन् । समस्यै समस्याका कारकमध्ये; सहरीया

भई खा’को त्यो ‘अर्को आत्माराम’ पनि एउटा कारक हो । न उसको पैदलशैली मिलेको छ

न बाटो काट्ने शैली । पालना गर्नुपर्ने ट्राफिक नियमलाई त उसले धेरै परको कुरो ठान्छ ।

फुटपाथमा पनि ऊ बिचबिचबाट हिँडिरहेको हुन्छ । आफ्नो पछाडि कोही छिटो

गतिमा आइरहेको हुनसक्छ भनेर सोच्दै सोच्दैन । आफू छेउको यात्रु हतारोमा रहेको देख्दै

देख्दैन । देख्यो र बुझ्यो भने पनि उसले बाटो छोड्दै छोड्दैन । त्यसमाथि ‘लभ बर्डस’

हरू त बाटो, गल्ली, मन्दिर, पार्कलगायत जताततै आफ्नै राज हो भन्ने मानसिकतामा

ंहिँडिरहेका हुन्छन् । जानी वा नजानी भइरहेको गलत हिँडाइले फराक बाटो पनि साँघुरो

भइरहेको हुन्छ । फलतः ‘एस्क्युज मी !’ भन्दै हिँड्नुपर्छ । त्यसमाथि फुटपाथसमेत

अतिक्रमणमा परिरहेको यो सहरमा साइकल सडकका सपना तेस्र्याइन्छन् ! सायद अब

कसैले लभबर्डसका लागि जोडा साइकल गुडाउन मिल्ने जोडा साइकल लेनको सपनासमेत

बिछ्याइदिन्छन् !

हेर्नोस् त ! यो महानगरमा सडकपेटी छन् तर सडक बत्ती छैनन् । कतिपय

सडकमा जेब्राक्रस पनि छन् तर ट्राफिक बत्ती छैनन् । ठाउँठाउँमा सडक बत्ती र ट्राफिक

लाइट छन् तर ती बल्दैनन् । तर, यी परिवेशभन्दा पनि अचम्म लाग्छन् ती महानागरिक

महाशयहरू जो चुपचाप उपर्युक्त परिवेशमा निर्धक्कै महानगरीय जीवनयापन गरिरहेछन् ।

म एकसुरमा हिँडिरहेछु– कान्तिपथबाट सिधा केशर पुस्तकालय हुँदै

लैनचौरतिर । यसबीचको फुटपाथ सधैझैँ यतिबेला पनि होलो नै छ । एक पुरुष विपरीत

दिशाबाट आउँदै गरेका छन् । उसको मुहार सडकलाई उज्यालो पारिरहेको पहेँलो बत्तीझैँ

छ । घाम नछिर्ने कतिपय सहरी डेराबासीका पहेँलिएको मुहारझैँ छ । तर, उसको मुहारमा

सहर खाई पोख्त भएको एक सहरीया मुस्कान थियो । उसलाई मैले चिनेको छैन तर ऊ

किन हाँस्दै मतिर झन्झन् नजिकिँदै छ हँ ? तर, उसले मलाई क्रस ग¥यो । यसो पछाडि

मुन्टो बटारेँ– उसको परिचित आउँदै रहेछन् । चर्को स्वरमा अभिवादन गर्दै थिए –

‘जय नेपाल !’

‘लाल सलाम !’

‘सुन्नु भो ! भोलि त …बन्द … !!’

‘गज्जब भो ! भोलि त शुक्रबार पनि हो । अब ‘डबल गूड फ्राइ डे’ पो हुने भो !

हा … हा …हा … !!!’

एक्लो हिँडाइमा विविध अनुभव र अनुभूत भइरहेका हुन्छन् । स्वसंवाद पनि

भइरहेका हुन्छन् । स्वसंवादमा हुने तर्क–वितर्कले ममा नयाँ–नयाँ विचारहरू जन्मन्छन् । र,

भएका विचारलाई अझ परिष्कृत गर्छन् । र त, जति हिँडिरहेको हुन्छु उति आनन्दित

भइरहेको हुन्छु । कहिले ह्रदय भइ मस्तिष्कलाई त कहिले मस्तिष्क भई हृदयहलाई

चुमिरहेको हुन्छु ।

म हिँडिरहेछु । बाटो नापिरहेछु । यहीबीच खसी बजार, फलफूल तथा तरकारी

बजार र आफ्नो खल्ती पनि नापिरहेछु । काम र समय नापिरहेछु । अनि नापिरहेछु श्रम

र आर्जन पनि । तर, मैले आफ्नै चरित्रमापनचाहिँ भुलिरहेछु । मजस्ता धेरै आत्मारामहरूले

अन्तिम श्वास–प्रश्वासको बखत आफूलाई नाप्दारहेछन् भन्ने कुरो पनि बुझिरहेछु । र त,

मैले पनि आफूलाई यदाकदा आफ्नै आत्मसमीक्षामा नापिरहेछु । कारण, विनाउद्देश्यको

हिँडाइमा पनि एउटा उद्देश्य लुकेको हुन्छ– तनावबाट मुक्त हुनु । दिक्दारीबाट पन्छिनु र

बाटो बिराउनबाट जोगिनु । कारण मानिसले एक्लो–दुक्लो हिँडाइमा नै किन नहोस् जब

बाटो बिराउन थाल्छ तव दुःखका दिनहरू निम्त्याउन थाल्छ ।

म जेब्राक्रसपश्चात सिधा गइरहन्छु । करिब १० मिटर हिँडेपछि बाटो बदल्छु र

आफैलाई हेर्दा थाहापाउँछु– म त स्वसंवादकार पो भएछ्ु ! र, आजको एक्लो हिँडाइको

स्वसंवाद पनि यहीँ सकाएँछु ! अस्तु ।

[email protected]

 

 

Loading...