वैशाख (कविता)

कविता

पहिलो कविता
राष्ट्रकवि माधवप्रसाद घिमिरे (१९७७–२०७७) नेपाली साहित्यका विशिष्ट प्रतिभा
हुन् । उनको परिचय भानु पत्रिकाले अनेक सन्दर्भमा प्रस्तुत गरिसकेको छ । उनका विषयमा
सम्पादकीय लेखन र आवरण तस्बिरहरू पनि प्रकाशन भइसकेका छन् । वैशाख महिनाको
सन्दर्भ पारेर उनको पुरानो र चर्चित कविता वैशाखलाई भानुको प्रस्तुत अङ्कको पहिलो
सामग्रीको रूपमा प्रकाशन गरी घिमिरेको स्मरण गरिएको छ ।
माधवप्रसाद घिमिरे
वैशाख
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली । ।
लाऊँ कानैतिर भनि टिपिन् गुर्सिनीले गुराँस
नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपाश ।
भोटेनीले मगमग बुकीफूल बाँधिन् तुनामा
क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा । ।

Loading...